
संयुक्त राष्ट्रसङ्घ, १ असोज । महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अझ तीव्र पारेको दीर्घकालीन तरलता समस्याका कारण यस्तो कदम चालिएको हो । संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीका अनुसार संशोधित बजेट तीन अर्ब २३ करोड ८० लाख डलर रहनेछ र यसले दुई हजार छ सय ८१ रोजगारी कटौती गर्नेछ ।
सुरुमा २०२६ को बजेट २०२५ को स्तरमै तीन अर्ब ७० करोड डलर रहने प्रस्ताव गरिएको भए पनि सङ्गठनलाई चुस्त र दक्ष बनाउन गुटेरेसले यसलाई घटाउनुभएको हो । मङ्गलबार सदस्य राष्ट्रहरू र कर्मचारीलाई पठाइएको पत्रमा महासचिवले ‘१५ प्रतिशतभन्दा बढी कटौती’ अर्थात करिब ५० करोड डलर बराबर र संयुक्त राष्ट्रसङ्घको कार्यबलमा १९ प्रतिशत कमी हुने बताए।
यसले शान्ति–सुरक्षा, मानव अधिकार र दिगो विकासजस्ता तीन प्रमुख स्तम्भमा असर पार्नेछ । तर अल्पविकसित राष्ट्रका कार्यक्रमहरू जोगाइने गुटेरेसले आश्वासन दिए।


























