
ब्रासिलिया, २७ भदौ । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ ।
सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ । पाँच न्यायाधीशमध्ये चार जनाले उहाँलाई दोषी ठहर गरेका थिए ।
उहाँमाथि सन् २०२२ को चुनावमा पराजयपछि तत्कालीन राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्यूत गर्ने षड्यन्त्र गरेको आरोप थियो । अभियोजनकर्ताहरूका अनुसार सैन्य शीर्ष अधिकारीहरूको समर्थन नपाएकै कारण योजना असफल भएको हो ।
बोल्सोनारोको प्रतिरक्षा टोलीले सजायलाई ‘अविश्वसनीय रूपमा अत्यधिक’ भन्दै अन्तर्राष्ट्रिय स्तरमा समेत अपील गर्ने घोषणा गरेको छ ।
अमेरिकाले तुरुन्त प्रतिक्रिया दिँदै यो निर्णयलाई ‘राजनीतिक विच हन्ट’ भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तदनुसार कदम चाल्ने चेतावनी दिए पनि ब्राजिलले यस्तो धम्कीबाट नडराउने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सजायलाई ‘धेरै आश्चर्यजनक’ भन्दै बोल्सोनारोलाई ‘असल राष्ट्रपति’ र ‘असल मानिस’ का रूपमा प्रशंसा गरे। उनले बोल्सोनारोको कानूनी समस्या आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको दाबी गरे।
फैसलामा निर्णायक मत हाल्ने न्यायाधीश क्रिस्टियानो जानिनले भने, “प्रतिवादीहरूले सशस्त्र आपराधिक सङ्गठन गठन गरेका थिए, प्रमाणका आधारमा उनीहरूलाई दोषी ठहर गर्नुपर्छ ।” पूर्वमन्त्री र सैन्य प्रमुखसहित उनीहरूका सात सह–अभियुक्त पनि दोषी ठहर भएका छन् ।
सन् २०१९ देखि २०२२ सम्म राष्ट्रपति बनेका बोल्सोनारोले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्नुभयो । उहाँका सांसद छोरा फ्लेभियो बोल्सोनारोले इतिहासले आफूहरू सही पक्षमा रहेको प्रमाणित गर्ने विश्वास व्यक्त गरे र माफी विधेयक पारित गर्न कांग्रेसमा पहल गर्ने बताए।





























