
ओस्लो, २७ भदौ । आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अभियानबारे बढ्दो चर्चा भए पनि नर्वेली नोबेल समितिले आफ्नो स्वतन्त्रतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ । जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने इच्छा खुलेर व्यक्त गर्नुभएको छ ।
७९ वर्षीय अर्बपति ट्रम्पले गाजा र युक्रेनमा शान्ति ल्याउने प्रयास गरेको दाबी गर्दै आफू ‘पुरस्कारको योग्य’ भएको बताउनुभएको छ । उहाँले बारम्बार सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अप्रत्याशित रूपमा पुरस्कार पाएको उदाहरण पनि दोर्यायाउनुभएको छ ।
“विशेष उम्मेद्वारहरूप्रति मिडियाले धेरै ध्यान दिएको देखिन्छ, तर यसले समितिको छलफललाई प्रभावित गर्दैन”, समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले एएफपीलाई भन्नुभयो, “समितिले प्रत्येक नामाङ्कनलाई आफ्नै योग्यताका आधारमा विचार गर्छ ।” यस वर्षको विजेता अक्टोबर १० मा घोषणा गरिनेछ । समितिलाई हजारौँ योग्य व्यक्तिद्वारा तीन सय ३८ उम्मेदवार र संस्थाको लामो सूची पेश गरिएको छ ।
सूची ५० वर्षसम्म गोप्य रहने प्रावधान छ । ट्रम्पले आफूलाई विदेशी नेताहरूले मनोनित गरेको दाबी गर्नुभएको छ, तर जनवरी ३१ सम्म नामाङ्कन पेश गर्नुपर्ने भएकाले ती मनोनयन यस वर्षका लागि वैध नभएका हुन सक्छन् । “समितिले यसबारे कुनै टिप्पणी नगरे पनि नामाङ्कन हुनु मात्र ठूलो उपलब्धि होइन, विजेता बन्नु नै असली उपलब्धि हो”, हार्पभिकेनले भन्नुभयो ।
समितिले अघिल्ला वर्षहरूमा पनि अन्तर्राष्ट्रिय दबाब नमान्ने देखाएको छ । सन् २०१० मा चिनियाँ असन्तुष्ट लिउ सियाओबोलाई पुरस्कार दिँदा नर्वे–चीन सम्बन्धमा गहिरो तनाव आएको उदाहरण समितिले स्मरण गराएको छ ।


























