
काराकास, १७ भदौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले दिनुभएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुएलाको पानीमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् ।
अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर, मदुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना पठाएर, साथै नागरिकलाई मिलिसियामा भर्ना हुन आग्रह गर्दै प्रतिक्रिया जनाइसकेको छ । “यस असाधारण सैन्य दबाबको सामना गर्दै हामीले भेनेजुएलाको रक्षाका लागि अधिकतम तयारी घोषणा गरेका छौँ”, मदुरोले भन्नुभयो ।
उहाँले यो तैनाथीलाई ‘अन्यायपूर्ण, अनैतिक, आपराधिक र रक्तपातपूर्ण खतरा’ का रूपमा चित्रण गर्नुभयो । उहाँले यदि अमेरिकाले आक्रमण गर्यो भने संवैधानिक अधिकारअनुसार आफूले ‘अमेरिकाविरुद्ध हतियार उठाएको’ घोषणा गर्ने बताउनुभयो । यद्यपि उहाँले यसबारे विस्तृत जानकारी भने दिनुभएन । हाल अमेरिकी नौसेनासँग क्यारेबियन क्षेत्रमा दुई एजिस निर्देशित मिसाइल विध्वंसक – युएसएस ग्रेभली र युएसएस जेसन डनहम – रहेका छन् । साथै युएसएस स्याम्पसन विध्वंसक र युएसएस लेक एरी क्रूजर ल्याटिन अमेरिकी पानीमा तैनाथ छन् ।
अमेरिकी पक्षले यो सैन्य उपस्थितिलाई अझ विस्तार गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, तीनवटा जल र स्थलबाट आक्रमण गर्ने जहाजहरू यो हप्ताभित्रै उक्त क्षेत्रमा प्रवेश गर्ने एपीलाई एक अमेरिकी रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । यी जहाजमा चार हजारभन्दा बढी नाविक र मरीन समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























