पोखरा, ७ भदौ । विद्यालयहरुकाे पनि विद्यालय मानिने राष्ट्रिय विद्यालय, गण्डकी बोर्डिङ स्कुलले आईतबार भदौ ८ गते विद्यालयको नियमित तालिका अनुसार पठनपाठन हुने जानकारी गराएकाे छ ।

विद्यार्थी विरामी भएको विषयलाई लिएर केही अनलाइन पत्रपत्रिकाहरुमा अतिरञ्जित गरिएको तथा सामाजिक सन्जालमा सहायक प्राचार्यको नाममा विद्यालयमा ३ दिन बिदा गरिएको जस्ता भ्रामक कुरा प्रचार भएको जानकारीमा आएको विद्यालयले जनाएको छ ।

प्राचार्य डा. विश्वयुधिर पौडेल घर्तीद्वारा जारि गरिएको प्रेस बिज्ञप्तीमा आजका दिनसम्म विद्यालयमा रहेका बाबुनानीहरुमा कुनै समस्या नभएको र बिदामा घर गएकाहरुमा पनि समस्या नदेखिएको बुझिन आएको जनाइएको छ ।

यहि भाद्र ६ गते बिहान १.३० बजेपछि विद्यालयको आवासमा रहेका केहि बाबुनानीहरुमा अकस्मात पेट दुख्ने, वाकवाकी लाग्ने तथा पखाला लाग्ने जस्ता समस्या देखिएको र उनीहरुलाई तुरुन्तै विद्यालयको स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको थियो ।

बिहान ९ वजेसम्म धेरै केसहरु आएका तर पूर्व उपचार गरिएकोले विद्यार्थीहरुमा समस्या नदेखिएको र केहिमा मानसिक त्रास देखिएको भएपनि समस्या सामान्यीकरण भईसकेको बिज्ञप्तीमा जनाइएको छ ।

बिद्यालयको नियमित तालिका अनुसार विद्यार्थीलाई निर्धारित समयमा घर पठाईएको, केहिलाई अभिभावकको जिम्मा लगाएर पठाइएको हो ।

उक्त दिनमै विद्यालयमा आन्तरिक छलफल गरिएको र अघिल्लो दिन खरिद गरेर ल्याएका खाद्य पदार्थहरुमा खाद्य विषाक्तताको आशंका गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय पोखरालाई पत्राचार गरी छानबिन गरिदिन अनुरोध गरिएको जनाईएको छ ।

यसका साथै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएकोमा मन्त्रालयबाट प्राविधिक टोली आएर अवलोकन गरी आवश्यक सोधपुछ भईसकेको छ । यसका बारेमा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले छानबिन समिति गठन गरेको विद्यालयले बिज्ञप्तीमार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0