
पोखरा, ४ भदौ । स्थापनाको ४५ वर्ष पार गरेको पोखराको टुडिखेलस्थित पुरानो सामाजिक संस्था इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा अन्तर्गतको युवा क्लबले नेपाली नारिहरुको महानपर्व हरितालिका तीजको अवसरमा तेश्रो ऐतिहासिक तीज महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।
२०३७ सालदेखि विभिन्न सामाजिक कार्यमा क्रियासिल हुँदै आएको इन्द्रेणी एकिकृत विकास केन्द्रको सहकार्यमा क्लबले यसअघि २०७६ सालमा वाईवाई तीज महोत्सव, २०७९ सालमा दोश्रो तीज मेला सम्पन्न गरेको थियो ।
यसपटक २०८२ भदौं ६ गतेदेखि १५ गतेसम्म पोखराको पुरानो टुँडिखेलमा सञ्चालन हुने महोत्सवमा १५० वटा स्टल रहने क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिईने र निःशुल्क स्टल उपलव्ध गराईने बताए । स्थानिय उत्पादनको प्रवर्धन, बालउद्यान, झाँकी प्रदर्शन् गरिने भएको छ ।
खुल्ला तीज प्रतियोगिताका विजयीलाई ३५ हजार ५५५, दितिय हुनेलाई २० हजार ५५५, तृतिय हुनेलाई १० हजार ५५५, सान्तोना हुनेलाई ५ हजार ५५५ पुरस्कार दिईनेछ । उत्कृष्ट भेषभुषा र नृत्यलाई ३ हजार ५५५ रुपैयाँ दिईने भएको छ ।
एकल तीज गीत गृहिणी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार ५५५, दितिय हुनेलाई ७ हजार ५५५ र तृतिय हुनेलाई ५ हजार ५५५ रुपैयाँ दिईने भएको छ । साथै सान्तोना हुनेलाई ३ हजार ५५५ रुपैयाँ रहेको छ ।
छेलो फाल्ने प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार ५५५, दितिय हुनेलाई ७ हजार ५५५ र तृतिय हुनेलाई ५ हजार ५५५ रुपैयाँ दिईनेछ । प्रतियोगितामा परम्परागत सिप ढिकि, जाँतो प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार ५५५, दितिय हुनेलाई ७ हजार ५५५, तृतिय हुनेलाई ५ हजार ५५५ रहेको छ ।
कार्यक्रममा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति तथा हाँस्यव्यङग्यको प्रस्तुति रहने भएको छ । गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, ज्योती मगर, श्याम राना, नविना शिलवाल खुईली लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
महोत्सव सम्पन्न गर्नका लागि ६४ लाख ५० हजार खर्च लाग्ने, ६९ लाख आम्दानी हुने र ४ लाख ५० हजार बचत हुने अनुमान गरिएको छ ।
























