Home main with pic गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज (पर्सा), २५ साउन। बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान मर्कामा परेका छन् । पर्सा, बारा र रौतहटका दक्षिणीभेगका किसान सिँचाइका लागि गण्डक नहरमा आश्रित छन् ।

मधेस प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै बाराका किसानले नहरको किनारा आफूखसी भत्काएर उत्तरतर्फ पानी लगेपछि समस्या देखिएको हो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले बाराको फेटाबजार नजिकै डेढ किलोमिटरको दुरीमा पछिल्लो एक महिनामा चार पटक गण्डक नहरको संरचना भत्काएर उत्तरतर्फ पानी लगेको भेटिएको बताए ।

“गण्डक नहरको किनारा भत्काएर पानी लैजानेलाई कारबाहीका लागि बाराका स्थानीय प्रशासन तथा प्रहरीमा उजुरी दिँदै आइरहेका छौँ”, उनले भने, “नहरको किनाराको संरचना भत्काएर बिगार्नेको पहिचान अहिलेसम्म हुन सकेको छैन ।” कार्यालय प्रमुख पटेलले नहरको किनारा काटेसँगै रौतहटको बङ्कुलसम्म पानी पुग्नका लागि अवरोध हुँदै आइरहेको बताए ।

“गण्डक नहरको पानी पर्सा, बारा र रौतहटसम्मका दक्षिणीभेगतर्फ सिँञ्चित हुने गर्छ, बाराको फेटाबजार नजिकै नहरको किनारा भत्काइदिएपछि भने रौतहटका किसानलाई समस्या भएको छ”, उनले भने। कार्यालयका अनुसार आइतबारदेखि मङ्गलबारसम्म पर्सा जिल्लामा पानी वितरण गरिन्छ भने बुधबारदेखि शनिबारसम्म भने बारा र रौतहटका किसानलाई पानी वितरण गरिँदै आइएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीले बाराको बसन्तपुरमा गण्डक नहरको किनारा भत्काउनेको खोजी भइरहेको जानकारी दिए । प्रजिअ अधिकारीले गण्डक नहरका कर्मचारी र प्रहरीसँग समन्वय भइरहेको बताउनुभयो ।

“बारा र रौतहटमा पानीको पालो लगाउने समयमा नहरको किनारा काट्ने समस्या देखिएको छ”, उनले भने, “गण्डक नहरसँगै साइफन पनि रहेको छ । साइफनतर्फबाट दक्षिणतर्फ पानी बगाएर भारततर्फ पनि पानी लैजाने गरेको देखिएको छ । सो कार्य नियन्त्रणका लागि आवश्यक पहलकदमी भइरहेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here