
किएभ, २५ साउन । युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर वार्ताको घोषणापछि युरोपेली नेताहरूले शनिबार रातभर रुसमाथि थप ‘दबाब’ सिर्जना गर्न आग्रह गरेका छन् ।
तीन वर्षदेखि जारी द्वन्द्व समाधानका लागि युक्रेन र युरोपबाट किएभलाई वार्तामा सहभागी गराइनुपर्ने बतएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलगायत बिषयमा वार्ता गर्न यही शुक्रबार अलास्कामा भेटवार्ता गर्ने भएका छन् ।
गत हप्ता शिखर सम्मेलनको घोषणा गर्दै ट्रम्पले भनेका थिए, “दुवै पक्षको भलाइका लागि केही क्षेत्रहरू आदानप्रदान गरिनेछ।” यद्यपि यस भनाइबारे प्रतिक्रिया दिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले शान्ति स्थापनाका लागि रुसलाई जमिन नदिने बताए।
“युक्रेनीहरूले कब्जा गर्नेलाई आफ्नो भूमि दिने सहमति गर्ने छैनन्,” उनले सामाजिक सञ्जालमा भने। “युक्रेनको अनुपस्थितिमा हाम्राबारे कुनै पनि निर्णय शान्तिविरोधी निर्णय हुन्,” उनले भने। जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरसँगको टेलिफोन वार्ताका क्रममा युक्रेनका मित्रराष्ट्रलाई दिगो शान्ति प्राप्तिका लागि ‘स्पष्ट कदम’ चाल्न आग्रह गरेका छन् ।

























