

ढाका, १ साउन । बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।
गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उहाँको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो ।
अधिकारीहरूले पछि जिल्लामा रातिको कर्फ्यू लगाएका थिए । एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।
– अराजक अवस्था –
टेलिभिजन फुटेजले हसिना समर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ । पार्टीका नेताहरूले स्थानीय प्रहरी प्रमुखको कार्यालयमा शरण लिएका छन् । फुटेजमा शीर्ष नेताहरूलाई सैनिकहरूले सुरक्षाका लागि बख्तरबन्द गाडीमा लगेको देखाइएको थियो ।
तिनीहरू पछि सुरक्षा एस्कर्टहरूसँग छिमेकी जिल्लाका लागि प्रस्थान गरेका थिए । सरकारी अस्पतालका वरिष्ठ अधिकारी जिबितेश विश्वासले कम्तीमा तीन जनाको शव भित्र ल्याइएको पत्रकारलाई बताउनुभयो । देशको प्रमुख अङ्ग्रेजी भाषाको डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ ।
अन्तरिम सरकारले बुधबार विद्यार्थीहरूमाथि आक्रमण गर्नेहरू ‘दण्डविहीन’ नरहने बताएको छ र अन्तरिम नेता मुहम्मद युनुसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा गोपालगञ्जमा भएको हिंसालाई ‘पूर्ण रूपमा अक्षम्य’ भनी वर्णन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























