
तानसेन (पाल्पा), ३२ असार। वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताउनुभयो । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उहाँले बताउनुभयो । “यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, घर्तीले भन्नुभयो ।
टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उहाँको भनाइ छ । पहिले मकैखेती लगाउँदै आउनुभएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाउनुभएको छ । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुुरखेती गर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् ।
मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ”, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उहाँ मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।
यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























