
ढोरपाटन (बागलुङ), ३१ असार । गत शनिबार बागलुङको बुर्तिबाङबाट एकैदिन दुई गर्भवतीलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याइयो । सुत्केरी हुनका लागि प्रादेशिक अस्पतालमा बुर्तिबाङ आउनुभएकी ढोरपाटन नगरपालिका–८ की २३ वर्षीया देवी सुनारको अवस्था नाजुक थियो ।
ढोरपाटन उपत्यकामा बस्दै आउनुभएकी देवीलाई सुत्केरी व्यथा लागेपछि असार २७ गते बर्थिङ सेन्टरमा पु¥याइयो । बर्थिङ सेन्टरमा पुग्दा अवस्था जटिल बनेपछि स्वास्थ्यकर्मीले प्रादेशिक अस्पताल बुर्तिबाङमा प्रेषण सेवा (रेफर) गरेका थिए । अघिल्लो दिन ढोरपाटनबाट रेफर हुनुभएकी देवी २८ गते बिहानमात्रै बुर्तिबाङ अस्पतालमा आउनुभयो । अस्पतालका चिकित्सक अविनाश पोखरेलले हतारहतार उहाँको स्वास्थ्य परीक्षण गर्नुभयो ।
स्वास्थ्य परीक्षण गर्दा थाहा भयो की देवीको पेटमा बच्चा खेल्ने पानी सुकेको थियो । यस्तो अवस्थामा आमा र बच्चाको जोखिम हुनेहुँदा तत्काल विकलाई सुविधा सम्पन्न अस्पताल पठाउने निर्णय गरिएको डा पोखरेलले बताउनुभयो । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसहित अन्य निकायमा हेलिमार्फत उद्धारको प्रयास गरिरँदा ढोरपाटन नगरपालिका–५ की ३८ वर्षीया हुमी विक अस्पताल पुग्नुभयो ।
पेट दुखेर उपचारका लागि अस्पताल आएको बताउँदै उहाँले स्वास्थ्य परीक्षणपछि आफू गर्भवती छु भन्ने थाहा भएको उल्लेख गर्नुभयो । डा पोखरेलसहितको विकको स्वास्थ्य परीक्षण गरेसँगै शङ्कास्पद रिपोर्ट आएपछि उहाँको पिसाब परीक्षण गरियो । “उहाँको डेढ महिनाको बच्चा पाठेघरमा नभएर डिम्बबाहिनी नलीमा थियो । बच्चा पाठेघरभन्दा बाहिर बस्दा डिम्बबाहिनी नली फुटेको थियो ।
यस्तो अवस्थामा हुमीकोसमेत शल्यक्रिया गर्नुपर्ने हुँदा चिकित्सकले दुवै जनालाई हेलिमार्फत काठमाडौँस्थित पाटन अस्पतालमा पठाएको हो”, उहाँले भन्नुभयो । बुर्तिबाङ अस्पतालमा यस्तै प्रकृतिका समस्या भएका महिला समयसमयमा आइराख्ने अस्पतालकी नर्सिङ निरीक्षक पार्वती अर्यालले बताउनुभयो । देवी र हुमी दुवै जनाको बुर्तिबाङ अस्पतालमा शल्यक्रिया जटिल हुनेहुँदा हेलिमार्फत काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























