
वासिङ्टन, १८ असार । ह्वाइट हाउसले मङ्गलबार युक्रेनलाई बाइडेन प्रशासनको समयमा रुसी आक्रमणविरुद्धको लडाइँका लागि प्रतिज्ञा गरिएका केही मुख्य हतियार पठाउन रोकेको बताएको छ ।
तीन वर्षे युद्धका केही सबैभन्दा ठूला रुसी मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको युक्रेनलाई गोलाबारुद र वायु रक्षा प्रणालीसहित अन्य सैन्य सहायताको ढुवानी रोक्नुले ठूलो धक्का हुने सम्भावना छ ।
“हाम्रो देशको सैन्य समर्थन र विश्वभरिका अन्य देशहरूलाई सहयोगको डिओडी (रक्षा विभाग) समीक्षापछि अमेरिकाको हितलाई पहिलो प्राथमिकता दिन यो निर्णय गरिएको हो”, ह्वाइट हाउसका उप प्रेस सचिव अन्ना केलीले एक इमेलमा एएफपीलाई भने।
सैन्य सहायता कटौतीले रूस र युक्रेनलाई अवरुद्ध शान्ति वार्तालाई गति दिन दबाब दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकताहरूमा सम्भावित परिवर्तनको सङ्केत गर्दछ । शत्रु राष्ट्रहरूबीच १२ दिने घातक द्वन्द्वपछि गाजामा सम्भावित युद्धविराम व्यवस्थापनमा र इरान–इजरायल तनाव कम गर्नमा ठूलो भूमिका खेल्न ट्रम्प अगाडि बढेका छन् ।
पोलिटिकोका अनुसार नाम उल्लेख नगर्ने सर्तमा यसअघि सैन्य सहायता रोकिएको खबर दिएका अमेरिकी अधिकारीका अनुसार पहिले प्रतिज्ञा गरिएका केही गोलाबारुदको भण्डार धेरै कम भएको र केही बाँकी पठाइने हतियारहरू अब नपठाइने पेन्टागनको समीक्षाले निर्धारण गरेको छ ।


























