
गलकोट (बागलुङ), १७ असार । तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आउनुभएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग हुनुहुन्छ ।
खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई । रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आउनुभएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो ।
बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ । “चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ”, उहाँले भन्नुभयो, “अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियाँै, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ ।”
खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ । सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ । गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिनुभयो ।























