
हैदराबाद (भारत), १७ । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जी.भी. नारायण रावले बताउनुभयो ।
अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको छ । करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ । “कारखानाको सम्पूर्ण संरचना भत्किएको छ । आगो निभाइएको छ र हामी आगामी केही घण्टामा भग्नावशेष हटाउने काम सकिने आशा गर्छौं”, रावले भन्नुभयो ।
रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको थियो, जुन कच्चा माललाई औषधि बनाउनका लागि फाइन पाउडरमा प्रशोधन गर्न प्रयोग गरिन्छ । राज्यका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले विस्फोट हुँदा कारखानाभित्र एक सय आठ कामदार रहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























