पाेखरा, १५ असार । पोखराको भीमसेनटोलस्थित नेवाः छेमा पहिलो पटक लिङ्ग भैरवी देवी दर्शन आयोजना गरिएको छ। साउन्ड्स अफ ईशाको भावपूर्ण  सांगीतिक प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा ले दिप प्रज्वलन गरी प्रमुख अतिथीको आतिथ्यता ग्रहण गरेका थिए ।

५०० भन्दा बढी भक्तालुहरु सहभागी हुनुभएको सो दर्शनमा भक्तालुहरुले देवीलाई जागृत गराउने विभिन्न प्रक्रियाहरू मार्फत देवीको कृपा ग्रहण गर्ने र आनन्द लिने अवसर पाए । उनीहरुले देवी आरतीमा सहभागी भई देवी स्तुति – देवीको ३३ पवित्र नामको जप गरे अनि देवी अभिषेकमा पनि भाग लिए।

देवी अभिषेक सद्‌गुरुद्वारा रचना गरिएको एक प्रक्रिया हो, जसमा देवीको कृपा पाउनको लागि कृतज्ञताको भावसँग ११ वटा अर्पणहरू चढाइन्छ। यो प्रक्रिया देवी मन्दिरमा हरेक दिन, तीन पटक गरिन्छ। स्वयंसेवकहरूद्वारा उपस्थित सम्पुर्ण भक्तालुहरूलाई प्रसाद वितरण गरे सँगै यस परम स्त्री-प्रकृतिको उल्लासपूर्ण उत्सवको समापन भएको थियो।

लिङ्ग भैरवी देवीको प्राण-प्रतिष्ठा सन् २०१० मा सद्‌गुरुद्वारा कोयम्बतूरको ईशा योग केन्द्रमा गरिएको हो। देवीको वास्तविक प्रतिमा आठ फिट अग्लो छ, र हरेक दिन हजारौं भक्तहरू उहाँको दर्शनको लागि आउँछन्।

लिङ्गको स्वरूपमा रहनुभएकी देवीको यो रूप अद्वितीय छ; लिङ्ग-स्वरूप भौतिकबाट परको प्रतीक हो । लिङ्ग भैरवी परम स्त्री-प्रकृति वा देवीको सबैभन्दा उच्चतम अभिव्यक्ति हुनुहुन्छ । काठमाण्डौँको बसुन्धारामा पनि सद्‌गुरुले २०७९ साल फाल्गुन २३ गते लिङ्ग भैरवी देवी मन्दिरको प्राण-प्रतिष्ठा गर्नुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0