
वासिङ्टन, ३१ जेठ । दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।
केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।
सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन । सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएकाहरूको खोजी जारी राख्ने बताए।
सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भईरहेको बताएका छन् । वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन ।


























