
पोखरा, १७ असोज । पोखरा उद्योग वाणिज्य संघ (पोउवा) का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीले बधाई तथा सम्मान गरेको छ।
रोयल दिदीबहिनी किचन, उत्तमचोक पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सुनचाँदी व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यको हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त गरे।
व्यवसायी मैत्री नीतिको आवश्यकता
कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले व्यवसायीका समस्या समाधानका लागि पोउवा सदैव प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई यो हाम्रो परम्परा, रोजगारी, कला र आभूषणसँग जोडिएको संवेदनशिल क्षेत्र हो। राज्यले व्यवसायीलाई शंकाको दृष्टिकोणले हेर्नु हुँदैन, सम्मानजनक व्यवहार गर्नुपर्छ। हामी व्यवसायीको हकहित र शान्ति सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्न तयार छौँ।”
त्यस्तै पोउवाका महासचिव सुदिप प्रधानाङ्गले सुनचाँदी व्यवसायीहरूले नेपाली कला र कारिगरीलाई विश्वभर चिनाउन ठूलो योगदान पुर्याएको चर्चा गर्दै सरकारले व्यवसायीमैत्री नीति ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले नीतिगत सुधार र समस्या समाधानका लागि व्यावसायिक संस्थाहरू एक ठाउँमा बसेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
राज्यको दृष्टिकोण फरक भयो : व्यवसायी
समारोहमा अध्यक्ष मन बहादुर सुनारले वार्षिक करिब ५ अर्ब रुपैयाँ राजश्व बुझाउने सुनचाँदी व्यवसायीहरूलाई राज्यले बेलाबेलामा दुःख दिने गरेको गुनासो गर्नुभयो। राज्यको हेर्ने दृष्टिकोण फरक भएकै कारण व्यवसायीहरू मारमा परेको भन्दै उहाँले समस्या समाधानका लागि पोखरा उद्योग वाणिज्य संघसँग निरन्तर सहकार्य भइरहेको बताउनुभयो।
यस्तै निवर्तमान अध्यक्ष भरत विकले लाभकर व्यवहारिक नभएकाले विगतमा आन्दोलन नै गर्नुपरेको स्मरण गराउनुभयो। स्पष्ट नीति नियम र निर्देशिका नहुँदा व्यवसाय र लगानीमा ठूलो समस्या परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले आफैँ नियमावली र स्पष्ट मार्गदर्शन माग गर्दा पनि सरकारले सुनेको छैन। उल्टै कारबाहीको धम्की सहनुपरेको छ। पोखराका जुनसुकै व्यवसायीको सुनको शुद्धतामा एकरूपता छ। यो जोखिमपूर्ण तर पुर्ख्यौली पेसा र कलाको संरक्षण गर्ने व्यवसाय भएकाले पोउवाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।”
कार्यक्रमको सञ्चालन र समापन
संघका महासचिव सुरेन्द्र विकले सञ्चालन गर्नुभएको उक्त स्वागत एवं सम्मान कार्यक्रमको समापन प्रथम उपाध्यक्ष सुरेन्द्र विकले गर्नुभएको थियो। कार्यक्रममा पोखराका सुनचाँदी व्यवसायी, उद्योगी तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
























