
नारायण शर्मा, नवलपरासी, १३ असाेज । नारायणीको बाढिमा बगेर पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा पुगेको गैंडालाई डार्ट गरेर (सुई हानेर) बेहाेस बनाइएको छ ।
गैंडा खोज्न गएको टोलि प्रमुख रहेकी संरक्षण अधिकृत मधु नेपालीका अनुसार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा बेहोस पारिएको हो । सुस्ता गाउँपालिका वडा नम्बर ४ नरसहि गाउँको ९ नंबर ठोक्कर नजिक गैंडालाई सूई हानेर बेहोस पारिएको हो ।
झाडिमा डार्ट गरेर बेहोस बनाइएको गैंडालाई आजै ट्रकमा राखेर चितवन निकुन्जको कसरा ल्याइएकाे छ । गैंडा ३, ४ वर्षको जस्तो छ नेपालीले भनिन्।
नारायणी नदीमा बगेर नारायणगढदेखि ६९ किलोमिटर दक्षिण पश्चिमको सुस्ता पुगेको गैंडा फर्काउन चितवन निकुन्जले प्राबिधिक सहित २५ जनाको टोलि परिचालन गरेको थियो । हामी हिजाे आएका हौं आज हात्ति आएपछि गैंडा फेला पार्न सजिलो भएको हो टोली नेता नेपालीले भनिन्।
मंगलवार दिउँसो सुस्ता गाउँपालिका वडा नम्बर ४ को नरसहि गाउँमा गैंडा चर्दै गरेको छ भन्ने सूचनाका आधारमा संरक्षण अधिकृत मधु नेपालीको नेतृत्वमा २ वटा हात्ति सहितको टोलि नरसहि गाउ पुगेको हो । मधु नेपाली चितवन निकुन्ज पश्चिम सेक्टर अमलटारीकी प्रमुख हुन्।
सन २०१७ को बाढिमा नारायणीमा बगेर भारत पुगेका १२ वटा गैंडा फिर्ता ल्याइएको थियो । चितवन निकुन्जसंग जोडिएको नारायणी नदी वारपार गरिरहने गैंडा भेलले बगाएर निकै तल पुगेको हो ।
गैंडालाइ सुरक्षित स्थानमा बेहोस बनाएर ट्रकमा राखेर चितवन निकुन्जमा छोड्ने तैयारी भैरहेको निकुन्जका सूचना अधिकारी अबिनास थापाले जानकारी दिए ।
























