कायरो, १३ असोज । इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास तीव्र पारेका छन् । प्रस्तावित योजनाअनुसार पहिले जलघाँटी खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख मतभेद कायमै छन् ।

तीन क्षेत्रीय र दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष वार्ता गरिरहेका छन् । छलफल भइरहेको मस्यौदाअनुसार इरानले ओमानसँग गर्ने छुट्टै समझदारीअन्तर्गत जलघाँटी पुनःखोलिनेछ र व्यापारिक जहाज आवागमनलाई अस्थायी रूपमा व्यवस्थापन गरिनेछ ।

यसअघि जलघाँटीमा सुरक्षित जहाज सञ्चालन गराउने प्रयास असफल भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलघाँटी खोल्ने प्रस्ताव सुरुमा अस्वीकार गर्नुभएको थियो । इरानले अमेरिकी बन्दरगाह नाकाबन्दी हटाउनुपर्ने, रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने र तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छुट दिनुपर्ने सर्त राखेको बताइएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघची संयुक्त राष्ट्रसङ्घको महासभापछि पनि न्युयोर्कमै रहनुभएको छ । उहाँले कतारी मध्यस्थकर्तासँग पछिल्लो प्रस्तावबारे छलफल गर्ने बताइएको छ । उहाँले महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुभएको छ । गुटेरेसको कार्यालयले कूटनीतिक प्रयासको स्वागत गर्दै दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0