काठमाडौं, ४ असाेज । आगामी असोज ८ गतेदेखि १२ गतेसम्म नेपालका अधिकांश भू-भागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालसम्म पर्न सक्ने देखिएकाले मौसमविद्हरूले यस्तो आकलन गरेका हुन्।

मौसम पूर्वानुमान अनुसार विशेषगरी असोज ९ र १० गते (शुक्रबार र शनिबार) देशका धेरैजसो स्थानमा भारी वर्षाको जोखिम बढी देखिएको छ।

पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै प्रभाव, लुम्बिनी प्रदेशमा उच्च जोखिम

मौसमविद्हरूका अनुसार वर्षाको सम्भावना पूर्वदेखि सुदूरपश्चिमसम्मै रहे तापनि लुम्बिनी प्रदेशमा भने यसको प्रभाव अझ तीव्र हुने देखिएको छ। विभिन्न तीनवटै मौसम मोडलहरूले लुम्बिनी क्षेत्रमा भारी वर्षाको प्रक्षेपण गरेका छन्।

चारदेखि पाँच दिनको यो अवधिमा विभिन्न स्थानमा कुल ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखिएको छ। यो एकैदिन नभई चार-पाँच दिनको समग्र वर्षाको प्रक्षेपण हो।

बाढी, पहिरो र डुबानको खतरा, सतर्कता अपनाउन आग्रह

लामो समयसम्म निरन्तर भारी वर्षा हुनसक्ने भएकाले मुलुकका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम ह्वात्तै बढ्ने चेतावनी दिइएको छ। मौसमविद् तथा विज्ञहरूले नदी तटीय क्षेत्र, पहिरोग्रस्त र जोखिमयुक्त बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सावधानी अपनाउन सुझाव दिएका छन्।

यसैबीच जल तथा मौसम विज्ञान विभागले विकास भइरहेको यो प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। मौसम नजिकिँदै जाँदा वर्षाको ठ्याक्कै मात्रा र बढी प्रभावित हुने क्षेत्रबारे थप स्पष्ट जानकारी सार्वजनिक गर्दै जाने विभागको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0