
काठमाडौं, १५ भदौ। काठमाडौं महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ । केन्द्रमा एक जनप्रतिनिधि र दुई कर्मचारी रहनेछन् । विभिन्न कामका बारेमा जानकारी लिन वा दिन केन्द्रको फोन नं ०१– ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं ९८४१३४९७३५ र मेट्रो एफएमका स्टेशन म्यानेजर केशवप्रसाद नेपालको फोन नं ९८४१२५०७८० मा पनि सम्पर्क गर्न सकिनेछ ।
“बाढी सङ्कटग्रस्त क्षेत्रका आवश्यकता छिटोछिटो परिवर्तन भइरहेका छन् । आज अत्यावश्यक परेको वस्तु तथा सामग्री भोलि यथेष्ट हुन सक्छन्”, प्रभावित क्षेत्रबाट प्राप्त सूचना उद्धृत गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो “आवश्यकता र उपलब्धताको सन्तुलन मिलाउन केन्द्रमा प्राप्त हुने तथ्य तथा विवरणले व्यवस्थापनको चित्र देखाउनेछ ।” उहाँले एकीकृत विपद् प्रतिकार्यमा जोड दिँदै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह गर्नुभयो ।
“जिन्सी सामान वा सेवा प्रदान गर्न चाहनेलाई स्थानी आवश्यकताका आधारमा प्रभावितसम्म पुग्नका लागि सहजीकरण गरिदिनेछौँ ।” कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुलाई ल्याउन निःशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शववाहन परिचालन भइरहेको जानकारी दिनुभयो । वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरपालिकाले अघि सारेको विपद् सङ्कट व्यवस्थापन कार्यलाई सहयोग पुर्याउन चालु आर्थिक वर्षमा आफूले प्राप्त गर्ने रु दुई लाख ४८ हजार प्रदान गर्ने बताउनुभयो ।
विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले वडास्तरबाट विवरण सङ्कलन गरिने बताउनुभयो । बाढीबाट उद्धार गरिएका दम्पतीलाई उपचारपछि मानव सेवा आश्रममा यस्तै, महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट घाइते एक दम्पतीलाई उपचारपछि मानव सेवा आश्रम लगेको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्ने उनीहरुलाई आश्रममा लगिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रितको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमलाई कामपाले सहयोग उपलब्ध गराएको छ । आश्रममा यस्ता व्यक्तिको मानवोचित व्यवस्थापन हुने गरेको छ ।
आइतबार आश्रममा लगिएका दम्पतीको स्थायी बसोबास बाँके कोहलपुर हो । उहाँहरू बाढीबाट बच्नका लागि हामफालेर भाग्दा घाइते हुनुभएको थियो । बाढीमा परेपछि उद्धार गरेर श्रीमान्लाई भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते हुनुहुन्थ्यो । उपचारपछि उहाँहरू आज बिहान डिस्चार्ज हुनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























