
ढाका, ४ भदौ । बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना छ ।
अठहत्तर वर्षीय आलमगीरले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको राष्ट्रपतिका लागि दिउँसो हुने मतदानमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ । उहाँले मङ्गलबार आफूले राष्ट्रपतिको जिम्मेवारी पाउने कहिल्यै नसोचेको बताउँदै यसलाई पार्टी र सर्वशक्तिमान् अल्लाहको कृपाका रूपमा लिनुभएको थियो ।
उहाँले राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन् २०२४ को जनआन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएपछि भएको पहिलो आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपीले गत फेब्रुअरीमा ठूलो विजय हासिल गरेको थियो ।
त्यसपछि हसिनाका निकट सहयोगीका रूपमा चिनिनुभएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । छयत्तर वर्षीय साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिनुभएको थियो । उहाँ सन् २०२३ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो र सन् २०२८ को अन्त्यसम्म कार्यकाल बाँकी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























