
पाेखरा, २४ साउन । लेखनाथ उद्योग वाणिज्य संघले हाल बजारमा फैलाइएको एल.पी. ग्यास अभावको हल्ला पछाडि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आम उपभोक्ताहरूलाई आग्रह गरेको छ।
नेपाल आयल निगम र एल.पी. ग्यास उद्योग संघको भनाइ उद्धृत गर्दै संघले भारतबाट ग्यासको आयात नियमित भइरहेको र बजारमा ग्यासको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। तर, अभाव हुने त्रासका कारण उपभोक्ताहरूले एकैपटक धेरै सिलिन्डर भण्डारण गर्न खोज्दा बजारमा ग्यासको अस्वाभाविक माग बढेको र कृत्रिम अभाव सिर्जना हुन पुगेको संघको निष्कर्ष छ।
ग्यास आपूर्ति सहज र व्यवस्थित बनाउन संघले सरोकारवालाहरूका लागि देहाय अनुसारका आग्रहहरू जारी गरेको छ:
उपभोक्ताहरूका लागि आग्रह
- तत्कालको आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नराख्न।
- इन्डक्सन, राइस कुकर जस्ता विद्युतीय सामग्रीको अधिकतम प्रयोग गरी ग्यासमाथिको परनिर्भरता घटाउन।
ग्यास विक्रेता तथा डिपो सञ्चालकहरूका लागि निर्देशन
- विगतको बिक्री तथ्याङ्कका आधारमा वैज्ञानिक ढङ्गले ग्यास वितरण गर्न।
- वितरण प्रणालीलाई पारदर्शी बनाउन खरिदकर्ताको नाम र सम्पर्क नम्बरसहितको अभिलेख राख्न।
- ज्येष्ठ नागरिक, दीर्घरोगी तथा घरायसी उपभोक्तालाई ग्यास वितरणमा प्राथमिकता दिन।
अत्यावश्यक उपभोग्य वस्तुको सहज, पारदर्शी र न्यायोचित वितरणमा सहयोग गरी जिम्मेवार नागरिक र असल व्यवसायीको भूमिका निर्वाह गर्न लेखनाथ उद्योग वाणिज्य संघले सबै पक्षसँग अनुरोध गरेको छ।
























