पोखरा, ३ साउन । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक विभिन्न साङ्गठनिक निर्णय र समसामयिक राजनीतिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ।

संघका प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा बसेको बैठकले वर्तमान सरकारका कदमहरूको चर्को आलोचना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

बैठकले साङ्गठनिक सुदृढीकरणका लागि जिल्ला, पालिका र वडा तहसम्मका बैठक तथा भेलाहरूको समयतालिका निर्धारण गर्नुका साथै पार्टीको सदस्यता नवीकरण अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ।

विज्ञप्तिमा उठाइएका मुख्य समसामयिक बुँदाहरू:

  • प्रतिशोधपूर्ण गिरफ्तारीको भर्त्सना: एमाले अध्यक्ष केपी शर्मा ओली तथा उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरूलाई लक्षित गरी सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा गरेको गिरफ्तारी एवं निरङ्कुश कदमको बैठकले घोर भर्त्सना गरेको छ।

  • कर हटाउन माग: दुई तिहाइको वर्तमान सरकारले नागरिकमाथि थोपेको बिजुली (५%), शिक्षा (३%), स्वास्थ्य (३%), राइड सेयरिङ (५%), सम्पत्ति (१०%), पूँजीगत लाभकर (१०%), र बिमा अभिकर्ताको आम्दानीमा लगाइएको २० प्रतिशत कर तुरुन्त हटाई गरिखाने वातावरण बनाउन संघले माग गरेको छ।

  • यातायात क्षेत्रको ‘ट्राफिक आतङ्क’ बन्द गर्न माग: सवारी साधनमाथि तय गरिएको चर्को कर र जरिवानालाई ‘राज्य आतङ्क’ को संज्ञा दिँदै तत्काल बन्द गर्न चेतावनी दिइएको छ।

  • सुकुम्बासी उठिबासको विरोध: वर्षात्को समयमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई सुरक्षित र वैज्ञानिक व्यवस्थापन नगरी घरबारविहीन बनाउने राज्यको कदम खेदजनक रहेको उल्लेख गरिएको छ। साथै होल्डिङ सेन्टरहरूको अमानवीय अवस्था र न्यून गुणस्तरको खाद्यान्न व्यवस्थाले बिरामीको संख्या बढेको भन्दै ध्यानाकर्षण गराइएको छ।

  • राष्ट्रियताको सवाल र माफीको माग: प्रधानमन्त्रीले सार्वभौम संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै, उक्त अभिव्यक्ति सच्याई देश र जनतासँग माफी माग्न रास्वपा र सो सरकारका प्रमुख बालेन्द्र शाहलाई ध्यानाकर्षण गराइएको छ।

  • विद्युतीय गाडी (BYD) प्रकरणमा संसदीय छानबिनको माग: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संलग्नतामा विद्युतीय गाडी (BYD) आयातमा कर छली र दरहरू हेरफेर गरी भ्रष्टाचारलाई संस्थागत गरिएको आरोप लगाउँदै यसको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको जोडदार माग गरिएको छ।

  • सामाजिक सञ्जालको कुप्रचार रोक्न चेतावनी: समाजलाई विखण्डन गर्ने उद्देश्यले राजनीतिक प्रतिशोधका आधारमा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक कुप्रचारहरूलाई नियन्त्रण गर्न सरकार समक्ष माग गरिएको छ। यदि यस्ता कदम नरोकिए संघ आफैँ कठोर निर्णय लिन बाध्य हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुने चेतावनी दिइएको छ।

नयाँ कमिटी र साङ्गठनिक जिम्मेवारी

बैठकले निवर्तमान अध्यक्ष पीताम्बर खनालको २ वर्षे सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै बिदाइ गरेको छ। नवगठित कमिटीका पदाधिकारीहरूलाई संघका गण्डकी प्रदेश इन्चार्ज अक्कल तामाङले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

नयाँ कार्यसमिति:

  • अध्यक्ष: रोशन तामाङ

  • उपाध्यक्ष: सन्तोष शर्मा

  • सचिव: किरण ढकाल

  • सहसचिव: सन्तोष रेग्मी

  • कोषाध्यक्ष: अब्बु मियाँ

  • युथ फोर्स विभाग प्रमुख (गण्डकी): महेश अर्याल रहनु भएकाे छ ।

बैठकले देशमा बढ्दो युवा पलायन, बेरोजगारी र मूल्यवृद्धिका विरुद्ध जिल्ला तथा पालिकाहरूमा सिर्जनशील ढंगले विरोध तथा भण्डाफोरका कार्यक्रमहरू सञ्चालन गर्दै युवाहरूलाई जागृत गराउने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0