
श्रीहरिकोटा, आन्ध्रप्रदेश, २ साउन । भारतको पहिलो निजी क्षेत्रले निर्माण गरेको ‘अर्बिटल रकेट’ले शनिबार आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिरहेको भारतका लागि ठूलो उपलब्धि हो ।
‘स्काईरुट एरोस्पेस’ले निर्माण गरेको विक्रम–१ रकेटले सानो उपग्रहहरूलाई पृथ्वीको सतहबाट दुई हजार किलोमिटर टाढा वा तल्लो कक्षमा पु¥याउने लक्ष्य राखेको छ । यो रकेट शनिबार भारतको श्रीहरिकोटास्थित सतिश धावन स्पेस सेन्टरबाट ठूलो खुशी र जय जयकारबीच प्रक्षेपण गरिएको थियो । “हेलो स्पेस, हामी आइपुग्यौँ!“ स्काईरुट एरोस्पेसले एक्समा उडानको सफलतापछि गरिएको पोस्टमा लेखेको छ ।
“विक्रम–१ को परीक्षण उडान–१ ले आफ्नो अभियान पूरा गरेको छ । भारतीय निजी क्षेत्रको पहिलो अर्बिटल प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको छ ।“ विक्रम–१ रकेट सात तले भवन बराबरको उचाईको छ र यसले ३५० किलोग्राम (७७१ पाउन्ड) सम्मको भार (पेलोड) बोक्न सक्छ । ‘इन्डियन नेशनल स्पेस प्रमोशन एन्ड अथोराइजेसन सेन्टर’का अध्यक्ष पवन गोएन्काले यो उपलब्धिलाई ‘भारतीय निजी कम्पनीको पहिलो अर्बिटल प्रक्षेपणका लागि अपेक्षा भन्दा धेरै राम्रो’ भएको बताउनुभयो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रयासलाई ‘भारतको अन्तरिक्ष यात्रामा एउटा ऐतिहासिक क्षण’ को संज्ञा दिनुभएको छ । “हाम्रो निजी क्षेत्रको बढ्दो सहभागिताले नयाँ क्षितिज खोलिरहेको छ र नवप्रवर्तनलाई तीव्रता दिइरहेको छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, “यो उपलब्धिले असङ्ख्य युवाहरूलाई ठूलो सपना देख्न र निडर भएर नवप्रवर्तन गर्न प्रेरित गर्नेछ ।” यो रकेटले विभिन्न प्रकारका पेलोड बोकेको छ, जसमा ल्याबमा उत्पादित हीरा र अन्तरिक्षको फोहोर हटाउन सक्ने रोबोटिक उपकरणहरू छन् ।
अर्बिटल रकेटले १८ क्यारेटको सानो सुनको रकेट पनि बोकेको छ जसमा भारतीय भौतिकशास्त्री विक्रम साराभाई, सी.भी. रामन र पूर्व राष्ट्रपति तथा प्रख्यात अन्तरिक्ष इन्जिनियर एपीजे अब्दुल कलामका साना मूर्तिहरू छन्। भारतको अन्तरिक्ष महत्वाकाङ्क्षा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को दशकौँको लगानीमा भर परेको छ र पछिल्ला वर्षहरूमा यसले गति लिएको छ । करिब ८.४ अर्ब अमेरिकी डलर रहेको भारतको अन्तरिक्ष अर्थतन्त्र सन् २०२० मा निजी क्षेत्रलाई खुला गरेदेखि तीव्र रूपमा विस्तार भइरहेको छ र अहिले यसमा ४०० भन्दा बढी अन्तरिक्ष उद्यमहरू छन् ।




























