सियोल, २१ जेठ । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केतस्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने लक्ष्य दोहोर्‍याउनुभएको छ, जसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको छ । दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम संवर्धन संयन्त्रका रूपमा मूल्याङ्कन गरेको जनाएको छ ।

दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ, यद्यपि उक्त स्थलसम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ सुविधामा ‘अझ परिष्कृत प्रविधि’ प्रयोग गरिएको छ । तर संयन्त्रको ठ्याक्कै स्थान, यसको उत्पादन क्षमता वा सञ्चालन सुरु भएको मिति खुलाइएको छैन ।

राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा हतियार–स्तरको युरेनियम उत्पादनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको ठूलो हल देखिन्छ, जसले उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार भइरहेको सङ्केत दिन्छ । नयाँ संयन्त्रको सार्वजनिकसँगै किमले पछिल्ला वर्षहरूदेखि अघि बढाउँदै आएको आणविक हतियार कार्यक्रम विस्तार गर्ने नीतिलाई थप स्पष्ट पार्नुभएको छ । उहाँले अमेरिका नेतृत्वको सुरक्षा चुनौती र सैन्य दबाबलाई उत्तर कोरियाले आफ्नो आणविक क्षमता बढाउनुको मुख्य कारणका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।

केसीएनएका अनुसार किमले बुधबार उक्त आणविक केन्द्रको भ्रमण गरी सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिनुभएको थियो । भ्रमणका क्रममा उहाँले देशको आणविक प्रतिरोध क्षमता गुणस्तर र परिमाण दुवै हिसाबले अझ सुदृढ बनाउनुपर्ने आवश्यकता अझ बढ्दै गएको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0