
तेहरान (इरान), १ वैशाख। संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गर्नु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरवानीले अमेरिकाको कदमलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने आक्रमक कार्य भन्दै निन्दा गर्नु भएको छ । सैनिक नाकाबंदी लागू गर्नु इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन भएको उहाँले बताउनु भएको छ ।
गत अप्रिल –१२ मा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) द्वारा सार्वजनिक रूपमा सैनिक आतंकवादको घोषणा गरिएको थियो । उहाँले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा– २, अनुच्छेद ४ को उल्लङ्घन गर्दै आतंकवाद घोषणा गरेको बताउनु भएको छ । उहाँले अवैध नाकाबंदीले समुद्र सम्बन्धि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताउनु भएको छ ।
इरानी बन्दरगाहहरूमा आउने र जाने समुद्री यातायात रोक्ने प्रयास गरेर, अमेरिकाले इरानको सार्वभौम अधिकारको प्रयोगमा हस्तक्षेप गरिरहेको र अन्तर्राष्ट्रिय कानून अनुसार तेस्रो राज्यहरूको अधिकार र वैध समुद्री व्यापारको उल्लङ्घन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।
इरानले अमेरिकाको अवैध कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न आवश्यक उपायहरू गर्ने आफ्नो “अन्तर्निहित अधिकार“ राख्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























