
काठमाडौं, २५ चैत। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गर्नुभएको हो । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गर्दैै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले नेपाली जनताको हितमा परिणाम दिनेगरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता वक्त गर्नुभएको थियो ।
सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पार्नुभयो ।
सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उहाँको भनाइ छ । सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ । नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ ।
हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।” विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”
प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो । “नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन ।
हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो । उहाँले विकास, व्यापार, लगानी, जलवायु अनुकुलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिनुभयो । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उहाँले जोड दिनुभयो ।

























