
जेरुसेलम, २५ चैत । अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।
निर्धारित समयसीमा सकिन केही घण्टाअघि ट्रम्प प्रशासन युद्धबाट पछि हट्दै वार्ताको बाटो रोजेको हो । इरानले पनि युद्धविराम स्वीकार गरेको घोषणा गर्दै पाकिस्तानमा अमेरिकासँग वार्ता अघि बढाउने जनाएको छ । यद्यपि युद्धविराम कहिलेबाट लागू हुन्छ भन्ने स्पष्ट नभएकै अवस्थामा बुधबार बिहानसम्म इजरायल, इरान र खाडी क्षेत्रमा आक्रमणहरू जारी रहे ।
इजरायलले अमेरिका–इरानबीचको सहमतिलाई समर्थन जनाए पनि लेबनानमा हिजबुल्लाहसँगको लडाइँ यसमा नसमेटिएको स्पष्ट पारेको छ । इजरायली पक्षले इरानले आणविक वा क्षेप्यास्त्र खतरा पुनः नउठाउने सुनिश्चिततामा जोड दिएको छ । युद्धविरामको एक प्रमुख अंशका रूपमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सहमति भएको बताइएको छ । यस मार्गमा इरानले आफ्नो नियन्त्रण केही खुकुलो पार्ने सङ्केत दिएको छ, तर पूर्ण रूपमा खुला हुनेबारे अस्पष्टता कायम छ ।
इरान र ओमानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना पनि अघि आएको छ, जसबाट प्राप्त रकम पुनर्निर्माणमा खर्च गरिने बताइएको छ । युद्ध अन्त्यका लागि इरानले अमेरिकी सेना क्षेत्रबाट फिर्ता, आर्थिक प्रतिबन्ध हटाउने र फ्रिज भएका सम्पत्ति फुकुवा गर्ने माग अघि सारेको छ । यसबीच, इरानले प्रस्ताव गरेको १०–बुँदे योजनामा आणविक कार्यक्रमसम्बन्धी भाषा फरक–फरक संस्करणमा प्रस्तुत गरिएकाले थप अन्योल सिर्जना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























