
वासिङ्टन, १९ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ ।
ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताउनुभयो, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गर्नुभएन । उहाँले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गर्नुभयो । एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ ।
ट्रम्पको स्वीकृति दर घट्दै गएको छ भने बढ्दो तेल मूल्यका कारण सर्वसाधारणमा आर्थिक दबाब महसुस हुन थालेको छ । यही सन्दर्भमा उहाँले फेब्रुअरी २८ मा सुरु गरिएको आक्रमणमा किन इजरायलसँग सहकार्य गरिएको हो भन्ने विषयमा विस्तृत स्पष्टीकरण दिनुभएको थियो । उहाँले आफ्नो सम्बोधनमा अमेरिकाको रणनीतिक उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन अन्त्य गर्ने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको उल्लेख गर्नुभयो ।
यद्यपि संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य विश्लेषकहरूले इरान तत्कालै आणविक हतियार नजिक नभएको आकलन गर्दै आएका छन् । द्वन्द्वको सुरुआती चरणमै इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको घटनालाई ट्रम्पले आफ्नो सफलताका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले इरानका ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबी गर्दै सैन्य प्रगतिको चर्चा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























