
भक्तपुर, १४ चैत। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो ।
पूर्वगृहमन्त्री लेखक पक्राउ
यस्तै पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ लगेको छ ।
























