
नयाँदिल्ली, ११ फागुन। भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् ।
सरकारी अधिकारीहरूका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहनुभएका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गर्नुभएको छ । उहाँको आत्मसमर्पणलाई सुरक्षाकर्मीहरूले विद्रोही संरचनामा ठूलो धक्का ठानेका छन् ।
छत्तीसगढका उप–मुख्यमन्त्री विजय शर्माले आइतबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा ‘यो अन्तिम चरण हो’ भन्दै यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताउनुभएको छ । भारतले माओवादी विद्रोहीविरुद्ध व्यापक सुरक्षा अभियान तीव्र बनाइरहेको छ ।
हिमालयको फेदमा रहेको एक गाउँको नामबाट परिचित ‘नक्सलवादी’ आन्दोलन करिब छ दशकअघि सुरु भएको थियो । त्यसयता फैलिँदै गएको यो आन्दोलन सन् २००० को दशकको मध्यतिर चरम अवस्थामा पुगेको थियो ।
त्यतिबेला १५ हजारदेखि २० हजारसम्म लडाकू सक्रिय रहेको अनुमान गरिएको थियो । त्यतिबेला देशको झन्डै एक तिहाइ भूभागमा विद्रोही प्रभाव देखिन्थ्यो । तर पछिल्ला वर्षहरूमा सुरक्षात्मक कारबाही र आत्मसमर्पणको लहरसँगै आन्दोलन नाटकीय रूपमा कमजोर भएको सरकारी दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























