
मस्को, ९ कात्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गर्नुभएको छ । उहाँले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गर्नुभएको छ ।
क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, “निर्णायक परीक्षणहरू अब पूर्ण भएका छन् र म रूसी सशस्त्र सेनामा यस हतियारलाई सेवामा राख्नका लागि आवश्यक पूर्वाधार निर्माणको आदेश दिन्छु ।”
पुटिनका अनुसार, ‘ब्युरेभेस्टनिक’ मिसाइलको ‘असीमित दायरा’ रहेको छ र यो ‘रूसी वैज्ञानिक र इन्जिनियरहरूको अद्वितीय उपलब्धि’ हो । उहाँले यसलाई विश्वमा अन्य कुनै देशसँग तुलना गर्न नसकिने ‘असाधारण प्राविधिक उपलब्धि’ का रूपमा वर्णन गर्नुभयो ।
रूसी सेनाका प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१ मा सम्पन्न अन्तिम परीक्षणमा मिसाइलले करिब १४ हजार किलोमिटर दूरी तय गर्न लगभग १५ घण्टा उडान भरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो दूरी मिसाइलको अधिकतम सीमा नभएको र अझ टाढासम्म प्रहार गर्न सक्ने क्षमता रहेको प्रमाणित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























