
जेरुसेलम, २ भदौ । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् । प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए ।
प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ । प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका तस्बिरहरू देखाउँदै युद्धले आम नागरिकलाई पारिरहेको पीडाबारे आक्रोश पोखेका थिए । अहिले गाजामा दुई सय ५० भन्दा बढी मानिस भोकमरी वा कुपोषणका कारण मृत्यु भएको छ । गाजामा बाँकी ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास छ । बन्धकका परिवारहरूले सरकार र हमास दुवैलाई दोष दिएका छन् ।
पूर्व सैनिक र गुप्तचर अधिकारीहरूले पनि युद्ध अन्त्य गर्न सम्झौताको आवश्यकता औँल्याएका छन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमासलाई पराजित नगरेसम्म युद्ध रोक्ने आह्वानले बन्धक मुक्तिलाई ढिलाइ गर्छ र अर्को आक्रमण सुनिश्चित गर्छ’ भन्दै सम्झौतामा आपत्ति जनाइरहनुभएको छ । यसअघि केही बन्धक मुक्त गर्ने युद्धविराममा सहमति भएपछि नेतान्याहुको सरकार ढाल्ने धम्की आएको थियो ।
अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भन्नुभएको छ । यसैबीच, इजरायली सेनाले गाजामा कम्तीमा १७ जना सहायता खोज्ने नागरिकलाई मारेको अस्पतालहरूले बताएका छन् । उनीहरू संयुक्त राष्ट्रसङ्घका ट्रकको पर्खाइमा थिए । प्रत्यक्षदर्शीहरूले सेनाले भीडतर्फ गोली चलाएको बताएका छन् । मध्य गाजाको बुरेज शिविरमा आक्रमण हुँदा थप तीन जना मारिएको खबर आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























