पोखरा, ८ असाेज । नेपालमा भारी वर्षा र प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै कास्की जिल्लाका सम्पूर्ण विद्यालयहरू असोज ८ र ९ गते (दुई दिन) बन्द रहने भएका छन्

शिक्षा विकास तथा समन्वय इकाई, कास्कीले एक पत्र जारी गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशानुसार र मौसम विज्ञान विभागको पूर्वानुमानलाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको छ

गण्डकी प्रदेश र विशेष गरी कास्की जिल्ला सम्भावित बाढी, पहिरो, डुबान, नदी कटान र सडक अवरोधको उच्च जोखिममा रहेकाले पूर्वतयारी र सावधानी अपनाउन यो कदम चालिएको हो

इकाईद्वारा जारी गरिएका मुख्य निर्देशहरू:

  • विदा समायोजन: असोज ८ र ९ गते दिइएको यो विदा पछि आउने बर्खे वा हिउँदे विदाबाट समायोजन गरिनेछ

  • सुरक्षा र सचेतना: अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूले बालबालिकाहरूलाई नदी, खोला, पहिरो तथा जोखिमयुक्त स्थानमा जान नदिन र उच्च सावधानी अपनाउन अपिल गरिएको छ

  • अस्थायी आश्रयस्थल: आवश्यकता परेको खण्डमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ

इकाई प्रमुख लोकनाथ आचार्यद्वारा हस्ताक्षरित उक्त सूचना कास्कीका ५ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय र कार्यान्वयनका लागि पठाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0