
दमौली (तनहुँ), ३० भदौ। तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ । केन्द्रले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ८० लाख ११ हजार अनुदान वितरण गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो । कार्यक्रमअन्तर्गत सहकारी संस्थाबाट सङ्कलन भएको ३० लाख २० हजार ३२२ लिटर दूधमा प्रतिलिटर रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो ।
उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउँदा दूध उत्पादनमा संलग्न किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुगेको ठकुरीको भनाइ छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गरेको उहाँले बताउनुभयो ।
दूध बिक्रीबाट प्राप्त आम्दानीसँगै उत्पादनका आधारमा अतिरिक्त प्रोत्साहन रकम प्राप्त हुने भएपछि किसानमा पशुपालन व्यवसायप्रति थप आकर्षण बढेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























