
पोखरा, २० भदाै । पोखरा-१४, छिनेडाँडास्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज-नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (NTHMC) मा शनिवारदेखि ६ दिने ‘दिगो व्यवसाय व्यवस्थापन तथा नेतृत्व’ (Sustainable Business Management and Leadership – SBML) तालिम सुरु भएको छ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले आयोजना गरेको उक्त तालिममा स्विसकन्ट्याक्ट (swisscontact) र युनाइटेड कम्युनिटी नेपाल (UnCoN) को सहकार्य रहेको छ।
उद्घाटन समारोहमा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले पर्यटन तथा आतिथ्य (होटल) क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता बढाउन र व्यवसायीहरूलाई आधुनिक एवं दिगो व्यवस्थापकीय कौशलले सुसज्जित गराउन यो तालिम महत्त्वपूर्ण हुने बताउनुभयो।

त्यसैगरी, कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले होटल क्षेत्रमा कार्यरत म्यानेजरहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा व्यावहारिक रूपमा लागू गरी व्यवसायको स्तर वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
पोखराका विभिन्न होटल व्यवसायमा कार्यरत म्यानेजर लेभलका २० जनाको सहभागिता रहेको यो तालिम आगामी सेप्टेम्बर ५-६, १२-१३, र १९-२०, २०२६ गरी जम्मा ६ दिनसम्म सञ्चालन हुनेछ। तालिमको समय बिहान ९:०० बजेदेखि अपराह्न ४:४० बजेसम्म तोकिएको छ।
उक्त तालिममा कलेजका सहप्राचार्य एवं लिड ट्रेनर राजकुमार कार्की, दीपेन्द्र पहारी, कमलप्रसाद दाहाल, र सुमित भण्डारी लगायतले सहभागिहरूलाई प्रशिक्षण दिइरहनुभएको छ।
BHM, BBA, BBA Finance, र EMBA जस्ता व्यावसायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। कार्यक्रम कलेजका परिक्षा संयाेजक शुरेस अधिकारीले सञ्चालन गर्नुभएकाे थियाे ।



























