
लन्डन, १७ भदौ । रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ । फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन् ।
कार्यक्रमअन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको छ । रूसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनअनुसार अमेरिका–इजरायल र इरानबीच सैन्य द्वन्द्व भइरहेका बेला पनि उक्त कार्यक्रम जारी रहेको थियो ।
इरानी मिसाइल विज्ञ तथा कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हिन्जले यसलाई रुसबाट इरानतर्फ भएको अत्यन्त रणनीतिक सैन्य प्रविधिको महत्त्वपूर्ण हस्तान्तरणका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार यस्तो कार्यक्रम सञ्चालनका लागि रूसी नेतृत्वको उच्च राजनीतिक स्वीकृति आवश्यक हुन्छ ।
रामजेट प्रविधि जहाजविरोधी तथा स्थल आक्रमण गर्ने क्रुज मिसाइलमा प्रयोग गर्न सकिन्छ । सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ । खाडी क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनाथ रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

























