काठमाडौं, १७ भदाै । इण्डियन आयल कर्पोरेसन (IOC) बाट इन्धनको खरीद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताका लागि साबिककै खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ।
भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको भदौ १६ गतेको निर्णयानुसार भदौ १७ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य नबढाइएको हो।
इण्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु. ३.३४, डिजेलमा रु. ४.३३, मट्टितेलमा रु. १०.१९, हवाई इन्धनमा प्रति लिटर रु. ४.९६ र एल.पि. ग्यासमा प्रति सिलिन्डर रु. ३५.६२ ले मूल्य बढेर आएको थियो।
तर, बाढीको असर र मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहेको भए तापनि हाललाई मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ। मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रूपमा करिब रु. १ अर्ब २४ करोड ३७ लाख घाटा हुने अनुमान गरिएको छ।
हाल कायम रहेको खुद्रा बिक्री मूल्य सूची:
- पेट्रोल:
- पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज): रु. १९७.५० प्रति लिटर
- दोस्रो वर्ग (सुर्खेत र दाङ): रु. १९९.०० प्रति लिटर
- तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपालय): रु. २००.०० प्रति लिटर
- डिजेल/मट्टितेल:
- पहिलो वर्ग: रु. १९७.५० प्रति लिटर
- दोस्रो वर्ग: रु. १९९.०० प्रति लिटर
- तेस्रो वर्ग: रु. २००.०० प्रति लिटर
- हवाई इन्धन (आन्तरिक): रु. २४९.०० प्रति लिटर
- हवाई इन्धन (अन्तर्राष्ट्रिय): काठमाडौँतर्फ $ १६९७ प्रति किलो लिटर (पोखरा र भैरहवाको लागि Breakeven Point मा बिक्री मूल्य कायम)
- एल.पि. ग्यास: रु. २०६० प्रति सिलिन्डर (१४.२ के.जी.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?