
चितवन, १५ भदौ । पृथ्वी राजमार्गको पहिरो प्रभावित क्षेत्र मानिने कृष्णभीरमा आइतबार बिहानदेखि सडक भासिन थालेपछि सवारी आवागमन ठप्प भएको छ। त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरेपछि तत्काल सडक सञ्चालन गर्न नसकिने अवस्था आएकाले सडक विभाग र सम्बन्धित आयोजनाले वैकल्पिक मार्गको खोजी सुरु गरेका छन्।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटानका कारण सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ। पहिरो र कटानको जोखिमका कारण हाल पैदलयात्रासमेत रोकिएको छ। तत्कालै मर्मत सम्भव नभएपछि प्राविधिक तथा विषय विज्ञहरूले वैकल्पिक बाटो र सडक पुनर्निर्माणका लागि अध्ययन थालेका छन्।
आयोजनाको पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले नदीले फेदबाट निरन्तर कटान गरिरहेकाले सडकको भित्तोसमेत चर्किएको जानकारी दिनुभयो। “भित्तो काट्न माथिल्लो भागमा बस्ती भएकाले सम्भव छैन,” इञ्जिनियर अधिकारीले भन्नुभयो, “अहिले तत्काल सडक सञ्चालन गर्न सकिने अवस्था नरहेकाले विज्ञहरूको विस्तृत अध्ययनपछि मात्र कामको टुङ्गो लाग्नेछ।”
सडक ठप्प भएपछि पूर्वबाट काठमाडौंका लागि छुटेका सवारी साधनलाई मकवानपुरतर्फका सडक प्रयोग गर्न आग्रह गरिएको छ भने पोखरा र पश्चिम क्षेत्रबाट आएका सवारी साधनका लागि धादिङको बेनीघाट–आरुघाट–गोरखा तथा गल्छी–धादिङबेसी–सल्यानटार–गोरखा मार्ग वा त्रिशूली नदीपारिको वैकल्पिक सडक प्रयोगमा ल्याउने गरी अध्ययन भइरहेको छ।
राजधानी काठमाडौं जोड्ने यो ‘लाइफ लाइन’ सडकमा दैनिक करिब १४ हजार सवारी साधन गुड्ने गर्छन्। इन्धनका बुलेट तथा उपभोग्य वस्तु बोकेका ठूला गाडीहरू राजमार्गमै रोकिँदा सर्वसाधारण तथा व्यवसायी प्रभावित बनेका छन्। केही वर्षयता पहिरो रोकथामको काम सफल भएर साम्य रहेको कृष्णभीरमा नदी कटानका कारण पुनः ठूलो जोखिम निम्तिएको हो।

























