
इन्डोनेसिया, १ भदौ । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् । घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् । सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।
हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूको भनाइ छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता बर्टन सुआर पेलिता पञ्जाइतानका अनुसार सोमबार बिहानसम्म फ्लोरेसका विभिन्न क्षेत्रमा घर फर्कन नसक्ने विस्थापितको सङ्ख्या १२ हजार ८०० पुगेको छ । लगातार आएका परकम्पका कारण धेरै मानिस दोस्रो रात पनि घरबाहिरै बस्न बाध्य भएका छन् ।
भूकम्पको केन्द्रनजिकै रहेको नागेको क्षेत्रमा एएफपीले म्बे सहरका बासिन्दाले त्रिपाल र खम्बाको सहायताले अस्थायी टहरा बनाएर रात बिताइरहेको देखेको थियो । स्थानीय बासिन्दा जुनैदिनका अनुसार धेरै घर भत्किएका छन् भने बाँकी घरमा समेत चिरा परेकाले भित्र बस्न सक्ने अवस्था छैन । उहाँले पानी, कपडा र सिरानीजस्ता आवश्यक सामग्री लिन मात्र घर जाने र फेरि अस्थायी शिविरमै फर्किने बताउनुभयो । राहतमा ढिलाइ भएको भन्दै उहाँले सरकारसँग सहयोगका लागि आग्रह गर्नुभयो ।
फ्लोरेसका बासिन्दाका लागि सन् १९९२ को ७.७ म्याग्निच्युडको भूकम्पको त्रास अझै ताजा छ । त्यसबेला भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो । यसपटक इन्डोनेसियाली वायुसेनाले दुई हक्र्युलस विमान र एउटा बोइङमार्फत १३ टन आपत्कालीन राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको जनाएको छ । दुर्गम क्षेत्रमा रहेका बासिन्दासम्म सामग्री पुर्याउन हेलिकप्टरसमेत परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























