
काठमाडौं, ३० साउन। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र षड्यन्त्रपूर्वक र योजनाबद्ध ढङ्गले अनपेक्षित विभाजन निम्त्याउने काम भइरहेको आरोप लगाएका छन्।
इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्थामा बीचैमा रहस्यमय तरिकाले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा फुटको स्थिति सिर्जना गरिएको बताए।
विमलेन्द्र निधिद्वारा प्रस्तुत प्रतिवेदनका मुख्य बिन्दुहरू:
- अस्वाभाविक दबाब: अस्पतालमा जीवनमरणको सङ्घर्ष गरिरहनुभएका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न र आफूमा नेतृत्व हात पार्न महामन्त्रीद्वयले निरन्तर अस्वाभाविक दबाब दिइरहेको प्रतिवेदनमा उल्लेख छ।
- विधि र विधानको उल्लङ्घन: रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणका नाममा योगदानकर्ताहरूलाई विधि विपरीत पन्छाउने र अपमानित गर्ने खेल चलिरहेको भन्दै इतर पक्षले यसप्रति कडा आपत्ति जनाएको छ।
- नेतृत्व कब्जा गर्ने रणनीति: प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अवैध तरिकाले विशेष महाधिवेशन आयोजना गरी पार्टी नेतृत्व कब्जा गर्ने दुराशयपूर्ण रणनीति अपनाइएको ठहर गरिएको छ।
- क्रियाशील सदस्यता नवीकरणमा धम्की: १५औँ महाधिवेशनका लागि समयमै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई पुनः अद्यावधिक गर्न धम्कीपूर्ण दबाब दिनु विधान विपरीत कार्य भएको र यस्तो पासो थाप्न नहुने प्रतिवेदनमा भनिएको छ।
- सर्वोच्चको फैसलाको स्वागत: कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति (निसु) दिएको निर्णयलाई स्वागत गरिएको छ।
नेता निधिले १५औँ महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा सम्पन्न हुने र सोही महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नियमानुसार पद हस्तान्तरण गरिने स्पष्ट पारेका छन्। उनले स्वदेश तथा विदेशस्थित जनसम्पर्क समितिका सम्पूर्ण कार्यकर्ताहरूलाई सजग र सक्रिय रहन आह्वान समेत गरेका छन्।
प्रतिवेदनकाे पूर्णपाठ























