
अर्लिन्टन (संयुक्त राज्य अमेरिका), १ असार। विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।
खेलपछि दर्शकहरू केही समय स्टेडियममै बसेर आफ्ना सिट वरिपरि फोहोर सावधानीपूर्वक सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राख्दै सफा गरेका थिए । उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन् ।
जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको स्थान सफा राख्न सिकाइने बताउँदै ‘हामीले सबैको बारेमा सोच्नुपर्छ’ भन्ने धारणा आत्मसात गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जापानी समाजमा कुनै स्थान प्रयोग गरेपछि त्यसलाई आफूले पाएको भन्दा अझ सफा बनाएर छोड्ने अभ्यास सामान्य मानिन्छ । विद्यालयमा शिक्षकको निर्देशनबिना नै कक्षाकोठा सफा गर्ने परम्परा पनि त्यही संस्कारको हिस्सा भएको उहाँको भनाइ छ ।
जापान आफ्नो लगातार आठौँ विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ । खेलपछि एनएफएल क्वार्टरब्याक जेमिस विन्स्टनलाई पनि सफाइ अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन् चर्चित बनेको छ ।



























