वासिङ्टन, २५ जेठ । मध्यपूर्वमा इरान–इजरायलबीच तनाव पुनः चुलिँदै गएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । इरानले युद्धविरामपछि पहिलोपटक इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको घटनापछि केही घण्टामै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

फाइनान्सियल टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले निर्धारण गर्ने स्पष्ट सङ्केत दिँदै नेतान्याहुसँग ‘अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहने’ बताउनुभयो । उहाँले इजरायलको निर्णय प्रक्रियामा निर्णायक भूमिका अमेरिकाकै रहने दाबी पनि गर्नुभयो ।

इरानसँगको वार्तामा कुनै पनि प्रगति भए पनि त्यसमा हालको आक्रमणले असर नपार्ने ट्रम्पले स्पष्ट पार्नुभयो । उहाँका अनुसार कूटनीतिक संवाद जारी रहनेछ र तनावका बीच पनि सम्झौताका ढोका खुला रहनेछन् । यसअघि इरानले सोमबार इजरायलतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यसलाई अप्रिलको युद्धविरामपछि पहिलो प्रत्यक्ष आक्रमण मानिएको छ । यस घटनालाई युद्धविराम उल्लङ्घनको सबैभन्दा गम्भीर घटना मानिएको छ ।

इजरायली रक्षा बल (आइडीएफ) ले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरिएको र ती रोक्न प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ । देशका विभिन्न भागमा साइरन बजाइएको र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो । इजरायली वायु सेना (आइएएफ) ले पनि आक्रमणको पुष्टि गर्दै आफ्नो रक्षा प्रणाली सक्रिय भएको जनाएको छ । मोबाइल फोनमार्फत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो र अर्को सूचना नआएसम्म त्यहीँ रहन आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0