
पोखरा, १३ वैशाख । रेडियो अन्नपूर्णको रजत वर्ष विशेष कार्यक्रम सम्पन्न भएको छ । रजत वर्षको अवसर पारेर रेडियोलाई विभिन्न क्षेत्रमार्फत् सहयोग पुर्याएका २५ जना एकसाथ सम्मानित भएका छन् ।
कार्यक्रम मार्फत संगीत, साहित्य, समाजसेवा, स्वास्थ्य, पत्रकारिता खेलकुद, विधाका २५ जनालाई सम्मान गरिएको हो । सामाजिक तथा शैक्षिक क्षेत्रबाट अशाेक पालिखे, खेलकुदबाट नेपाल भुतपूर्व खेलाडी मञ्च, कला साहित्यतर्फ पाेखरेली युवा साँस्कृतिक परिवार तथा नागरिक समाजबाट राम बहादुर पाैडेल रहेका छन् ।
रेडियाेले निरन्तर २५ वर्ष रेडियाेमा सेवा गरेका समाचार प्रमुख आरजू विष्ट सल्यानीलाई दीर्घसेवा सम्मान गरेकाे छ । साथै १० वर्ष माथि सेवा गरेका शाेभा नेपाल, राजाराम पाैडेल, सविन रेग्मी, अरविन विक्रम राणा, अगन्धर सुवेदी, नारायण पाैडेललाई दीर्घ सेवा सम्मान गरेकाे छ । सञ्जय मल्ल, कञ्चन काेइराला, वासुदेव मिश्र, रमेश तिमिल्सिना, आर्यन थापा, अर्चना अधिकारी, रक्तदान सीता क्षेत्री, दीननाथ पाैडेल लगायतलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रले समाजमा नकारात्मकता भन्दा सकारात्मक सोच र भावना फैलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लोकतन्त्रको स्थायित्व र आगामी पुस्ताका लागि स्वस्थ समाज निर्माण गर्न मिडियाको भूमिका महत्ववपूर्ण हुने बताए ।
मुख्यमन्त्री पाण्डेले संघीय सरकारले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन उपलब्ध नगराउने गरी गरेको परिपत्रप्रति असहमति व्यक्त गरे । पछिल्लो समय सामाजिक सञ्जालमा आउने सबै सूचनाहरू समाचार नभएको र ती सबै सत्य नहुने उनको भनाइ थियो ।
रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले रेडियो जानि नजानि खोलिएकोमा हाल कमाउने भन्दा समाजिक सेवामा तल्लिन रहेको बताउँदै यो सेवा कायम रहने बताए ।
प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियो स्थापना सगैँ हालसम्म धेरै चुनौतिको सामाना गदै यो अवस्थामा आएको बताइन् ।
सँस्थापक स्टेशन म्यानेजर प्रकाश सायमीले रेडियोको स्थापनाकालका कुराहरु सुनाए । रेडियोजहिले पनि बाँचिरहने साधन भएकोले हतोत्साहि हुनुपर्ने जरुरी नभएको बताए ।
रेडियोका समाचार प्रमुख आरजु बिष्टले रेडियो स्थापना सहित समाचार प्रसारण गर्दाको समय स्मरण गराए ।
कार्यक्रममा पूर्व अन्नपूर्णकर्मी दिपेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले रेडियोमा काम गर्दाको अनुभव सुनाएका थिए ।























