
सियोल, ९ वैशाख । विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ । प्रभावित पक्षका अनुसार यो घटना यस वर्षकै सबैभन्दा ठूलो ज्ञात क्रिप्टो डकैतीमध्ये एक हो, जसले डिजिटल वित्तीय प्रणालीको सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ ।
यो घटनालाई उत्तर कोरियासँग जोडिएको पछिल्लो साइबर आक्रमणका रूपमा हेरिएको छ । संयुक्त राष्ट्रसङ्घको एक प्यानलका अनुसार उत्तर कोरियाले यस्ता परिष्कृत साइबर अपराधमार्फत चोरी गरिएको क्रिप्टोकरेन्सी आफ्नो आणविक हतियार कार्यक्रमलाई सघाउन प्रयोग गर्दै आएको छ । डिजिटल मुद्रासम्बन्धी समाचार प्लेटफर्म कोइनडेस्कका अनुसार शनिबार अनलाइन लगानी प्लेटफर्म केल्पडीएओको भल्टमा भएको चोरी सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो शोषण हो ।
मङ्गलबार सार्वजनिक गरिएको विवरणअनुसार, ह्याकका क्रममा लेयरजिरो नामक प्रविधि प्लेटफर्मले सञ्चालन गरेका दुईवटा ब्लकचेन सर्भरहरूमा अनधिकृत पहुँच स्थापित गरिएको थियो । केल्पडीएओका अनुसार यस पहुँचले इथेरियमसँग सम्बन्धित क्रिप्टो टोकनहरू प्रणालीबाट ‘निकाल्न’ सम्भव बनायो । लेयरजिरोले एक विज्ञप्तिमा अप्रिल १८, २०२६ मा करिब २९ करोड डलर बराबरको क्षति भएको पुष्टि गरेको छ ।
उक्त आक्रमणबारे प्रारम्भिक सङ्केतहरूले अत्यन्तै परिष्कृत राज्य–समर्थित समूह संलग्न भएको देखाएको भन्दै सम्भावित रूपमा उत्तर कोरियाको लाजरस समूह जिम्मेवार हुनसक्ने उल्लेख गरिएको छ । यद्यपि, प्रयोगकर्ताका अन्य सम्पत्ति वा प्रणालीमा कुनै असर नपरेको भन्दै कम्पनीले आश्वस्त पार्ने प्रयास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























