
पोखरा, ९ माघ । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको ज्ञानभूमि माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण, विज्ञान प्रदर्शनी, सम्मान दाताहरुद्वारा सहयाेग हस्तान्तरण, विद्यार्थी र शिक्षकद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।
प्रधानाध्यापक विनोद राज सुवेदीले शैक्षिक सत्र २०८२ का लागि वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार तथा विद्यार्थीको चौतर्फी विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए ।
विद्यार्थीको समग्र विकासका लागि प्रत्येक महिनाको अन्तिम शुक्रबार बुक फ्री डे कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममार्फत सिर्जनात्मक, व्यवहारिक र सहभागितामूलक क्रियाकलाप गरिँदा विद्यार्थीको चौतर्फी विकासमा टेवा पुगेको सुवेदीले बताए ।
प्रतिवेदन अनुसार विद्यालयका पूर्व विद्यार्थी तथा वरिष्ठ फिजिसियन डा. बसन्त ताम्राकारद्वारा प्रोजेक्टर सहयोग प्राप्त भएको छ । उक्त प्रोजेक्टरमार्फत कक्षा शिक्षण–सिकाइका क्रियाकलापलाई प्रभावकारी बनाइएको विद्यालयले जनाएको छ ।
कक्षा १ का विद्यार्थीका लागि एलिगेन्स डेकोरेसन प्रा.लि.को सहयोगमा जुट कार्पेट सहयाेग प्राप्त भएकाे छ । उक्त सहयोगका लागि संस्थाका प्रोप्राइटर उत्तम मान बुद्धाचार्यलाई विद्यालयले विशेष धन्यवाद ज्ञापन गरेको छ । यस्तै, नर्सरी कक्षामा पूर्ण मन्टेसरी विधिबाट पठनपाठन गराउन तालिम प्राप्त शिक्षकको व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाल स्काउट, नृत्य तथा संगीत कक्षाहरू सञ्चालन गरिएको जानकारी दिइएको छ । साथै, खानेपानी ट्याङ्की निर्माण कार्य सम्पन्न गरेका निर्माणकर्ता विकास श्रेष्ठलाई रु दुई लाख दश हजार भुक्तानी गरिएको जनाइएको छ ।
भौतिक पूर्वाधारतर्फ विद्यालयलाई २ वटा स्टिल ट्याङ्की (१००० र ५०० लिटर) तथा युराे गार्ड व्यवस्थापनमा सहयोग पुर्याएको लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटीलाई विशेष धन्यवाद दिइएको छ ।
वार्षिक कार्ययोजना अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई २ दिने शैक्षिक अवलोकन भ्रमण (गोर्खा दरबार तथा बन्दीपुर) गराइएको छ भने अन्य कक्षाका विद्यार्थीलाई १ दिने वनभोज तथा अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, नेपाल मणिपाल शिक्षण अस्पतालको सहकार्यमा नाक, कान, घाँटी तथा अन्य स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न दातृ संस्थाको सहयोगमा ३१ जनालाई स्विटर, २८ जनालाई ज्याकेट तथा ट्रयाक सुट वितरण गरिएको जानकारी दिइएको छ ।
सिद्धि सेतुली स्मृति प्रतिष्ठानमार्फत शैक्षिक सामग्री तथा तहगत रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति व्यवस्था गरिएको भन्दै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिएको छ । साथै, ज्ञानभूमि स्काउट ट्रुपका ५० जना विद्यार्थीलाई १ दिने हाइकिङ कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याएकोमा वडा कार्यालयलाई विशेष धन्यवाद दिइएको छ ।
विद्यालयका कक्षा ९ का एक विद्यार्थी सिमल गुरुङको घर आगलागीबाट पूर्ण रूपमा क्षति भएको अवस्थामा ज्ञानभूमि जुनियर रेडक्रस सर्कलमार्फत रु १०,००० नगद तथा विद्यालय परिवारबाट रु ५,७०० सहयोग प्रदान गरिएको जानकारी प्रतिवेदनमा समेटिएको छ ।
विद्यालय प्रशासनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र विद्यार्थीमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालयको ‘भावी योजना’
भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आफ्नो नयाँ ‘भावी योजना’ सार्वजनिक गरेको छ। विद्यालय प्रशासन र व्यवस्थापन समितिको सक्रियतामा तयार पारिएको यस योजनाले प्रविधिमैत्री शिक्षा र विद्यार्थीको चौतर्फी विकासलाई मुख्य लक्ष्य बनाएको छ।
प्रविधि र पूर्वाधारमा जोड
सार्वजनिक योजना अनुसार विद्यालयले अबको शिक्षण सिकाइलाई पूर्ण रूपमा आधुनिक बनाउने लक्ष्य राखेको छ। यसका लागि १० वटा स्मार्ट बोर्ड (Smart Board) जडान गर्ने, थप कम्प्युटर ल्याबको व्यवस्था गर्ने र शिक्षकहरूलाई ICT तालिम दिने कार्यक्रम अघि सारिएको छ। साथै, विद्यालयको सुरक्षाका लागि थप ४ थान CCTV क्यामेरा जडान गरिने भएको छ।
विद्यार्थी कल्याण र सामाजिक पहल
आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि विद्यालयले ‘Donate To Your Friends’ कार्यक्रमको प्रस्ताव गरेको छ। यस अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, स्वास्थ्य उपचार र पोसाक सहयोग उपलब्ध गराइनेछ। साथै, महिनावारी स्वच्छतालाई ध्यानमा राख्दै सेनेटरी प्याड डिस्पोजल मेसिनको खरिद र आधुनिक शौचालय निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
शैक्षिक गुणस्तर र सीप विकास
- SEE र BLE का विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गरिनेछ।
- विद्यालयलाई अङ्ग्रेजी माध्यम (English Medium) मा सञ्चालन गर्न प्रस्ताव पेस गरिएको छ।
- विद्यार्थीहरूको जीवनशैली सुधारका लागि २ देखि ३ दिने व्यावसायिक तालिम (Vocational Training) प्रदान गरिनेछ।
- हरेक चौमासिक परीक्षा पछि अभिभावक र शिक्षकबीच नतिजाबारे बृहत् छलफल गरिनेछ।
विद्यालयले यी योजनाहरू सफल पार्न वडा कार्यालय, विभिन्न संघ-संस्था र सरोकारवालाहरूसँग समन्वय र सहयोगको अपिल गरेको छ।
कार्यक्रममा पूर्व विद्यार्थी बसन्त ताम्राकारले आफु पढेको विद्यालय उहिले र अहिलेको अवस्थालाई हेर्दा धेरै परिवर्तन भएको बताए । विद्यालयका लागि अझैं केहि आवस्यक परेको खण्डमा सहयाेगका लागि प्रतिवद्ध रहेको बताए ।























