
दुबई, २८ पुस । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गर्नुभएको छ, तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिनुभएको छ ।
आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिनुभयो । “सेनाले सबै कुरा गहिराइमा हेरिरहेको छ र हामीसँग निकै बलिया विकल्पहरू छन्”, उहाँले भन्नुभयो । इरानले प्रतिशोध लिएमा ‘पहिल्यै कहिल्यै नदेखिएको स्तरको जवाफ’ दिने चेतावनी पनि उहाँले दिनुभयो ।
राष्ट्रपति ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ । तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “इरान वार्ता गर्न चाहन्छ”, उहाँले स्पष्ट पार्नुभयो । यद्यपि, उक्त बैठक प्रस्तावबारे इरानी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन ।
यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था पनि ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ । इरानले चेतावनी दिँदै यदि अमेरिकाले प्रदर्शनकारीहरूको नाममा हस्तक्षेप गर्यो भने अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ । मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् ।
मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ । इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र एसोसिएटेड प्रेसले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























