
पाेखरा, ४ पुस । गण्डकी बोर्डिङ स्कुल लामाचाैरमा पुस २ गतेदेखि सञ्चालन गरिएकाे तीनदिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा वार्षिक सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
समापन समारोह नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, बैज्ञानिक डा. रविन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि ढकालले पहिलो पटक खेलकुद, शैक्षिक प्रदर्शनी, विद्यार्थीका सिर्जना र नेपालको मेचीमहाकालीको प्रतिनिधित्व गर्ने सांस्कृतिक कार्यक्रममा सरिक हुने मौका गण्डकी बोर्डिङ स्कुलले दिएकोमा आभार व्यक्त गरे ।

डा.ढकालले नेपालमा सबैले भनिहाल्ने, सोध्ने बित्तिकै नाम आईहाल्ने, सबैमा परिचित गण्डकी बोर्डिङ एउटा मानक विद्यालयको रुपमा रहेको र यहाँबाट उत्पादित विद्यार्थीहरु उच्च स्थानमा पुगेका छन्। यसकाे श्रेय यहाँ खटिएका शिक्षक, विद्यार्थी, अभिभावक तथा समाज सबैकाे अपनत्वकाे कारणले भएकाे बताए ।
हामी बैज्ञानिकहरु अध्ययन, अनुसन्धानमा व्यस्त हुन्छौं । यस्ता कार्यक्रमहरुमा सरिह हुने मौका नै हुँदैन । तर मलाई गजब लाग्यो, यहाँ खेलकुद, देशको सांस्कृतिक चेतनाको प्रतिविम्ब र विद्यर्थीका बिज्ञानसम्मत प्रोजेक्टहरुको प्रदर्शनीले भविष्यमा अब्बल बैज्ञानिकहरु, नयाँ नयाँ आविष्कारकहरु जन्मिनेमा म विश्वस्त छु ।
अब हाम्रा विद्यार्थीहरु राष्ट्र निर्माणकाे बाटाेमा उभिनुपर्छ । राष्ट्र निर्माणको लागि अतुलनिय योगदान दिनुपर्छ । विदेशमा ताक्ने भन्दा यहाँ नै त्यहाँको जत्तिकै कमाउन सकिन्छ भन्ने कल्पना गर्नुपर्छ र यो संभव पनि छ ।
हामीले दुईजना विद्यार्थीलाई नासामा पठायौं । उनीहरुले नानो स्याटेलाईट बनाएर र प्रक्षेपण गरे । जो दुई वर्ष उड्यो । अब छिट्टै भारतबाट नेपाली स्याटेलाईट उड्नेछ । यहाँ पनि हामीले एउटा सेसन चलाएका थियौं । गण्डकीका ४ कक्षामा पढ्ने विद्यार्थीले बनाएर देखाए । मैले यो कथा उज्यालो भविष्य बोकेको नेपालका लागि भनेको हो । उनले भने, बिज्ञान र प्रविधिमा काम गरौं । राष्ट्रको श्रोत, साधन र समस्या निराकरणका उपाएहरुको खोजि गरौं । हरेक क्षण् नयाँ के गर्ने भनेर कल्पना गर्नुस् । आईडिया निकाल्नुस् अनि हामीले नै देशको मुहार फेर्न सक्नेछौं यसमा दुईमत छैन ।
अब बैज्ञानिक सेमिनारहरु चाहिन्छ । नास्टले के सहयोग गर्न सक्छ त्यो हामीले समन्वय गर्नेछौं डा.ढकालले भने । उनले विद्यार्थीलाई नयाँ नयाँ आईडिया र तिनीहरुलाई उत्पादनमा परिणत गर्नका लागि केहि सिड मनिको रुपमा नास्टले १ लाख देखि १० लाखसम्मको सहयोग उष्पलव्ध गराउन सक्छ । उनले भने, हामी मिलेर, समन्वय गरेर काम गरौं यहीँ देशमा लक्ष्य भेटाउन कुनै अफ्ठेरो हुनेछैन ।

विद्यालयका प्राचार्य डा विश्वयूधिर पौडेल घर्तीले गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको आयोजनामा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम–२०८२ शुक्रबार सम्पन्न गर्न सबैकाे प्रयत्नले सफतापूर्वक सम्पन्न भएको बताए ।
विद्यालयले शैक्षिक ज्ञानसँगै खेलकुद, संस्कृति र सिर्जनशील गतिविधिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको घर्तीले बताए। उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
गत पुस २ गतेदेखि सञ्चालन भएको वार्षिक खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल प्रहरीका वरिष्ठ नायब महानिरीक्षक दिनेश कुमार आचार्यले गरेका थिए। दुई दिनसम्म चलेको खेलकुद कार्यक्रममा लङ जम्प, हाई जम्प, दौड, रिले, मार्चपास्ट, भाला फाल्ने, ठेलो फाल्ने लगायतका विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका उनले जानकारी दिए । प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमअन्तर्गत विज्ञान, कला तथा सामाजिक अध्ययनसँग सम्बन्धित शैक्षिक प्रदर्शनी पनि आयोजना गरिएको थियो। कक्षा १ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका शैक्षिक तथा रमाइला खेलका स्टलहरूले सहभागीको ध्यान आकर्षित गरेका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, गीत तथा प्रस्तुतिहरूले कार्यक्रमकलाई थप राैनक बनाएको थियो।
विद्यालयले वर्षभरि सञ्चालन गर्ने यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आधार तयार गरेको विद्यालय प्रशासनको भनाइ छ। विद्यालयले ज्ञान, चरित्र र सेवा (Knowledge, Character, Service) लाई आफ्नो मूल मन्त्रका रूपमा आत्मसात गर्दै आएको प्राचार्य डा.घर्तीले बताए ।
उनलेले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक तथा गुणस्तरीय कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यार्थीले नेपाली मौलिक कला झल्किने मेचकालीका विभिन्न समुदायका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य मदन बहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई महोत्सव संयोजक तथा होस्टल सुपरभाईजर राजकुमार ढकालले आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख स्थिरबाबु सुवेदीले गरेका थिए ।



























