
जोहानेसबर्ग, ३ मङ्सिर । अफ्रिकामा पहिलोपटक आयोजना हुँदै गरेको जी–२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु–संवेदनशील राष्ट्रहरूका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकहरूले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ ।
जोहानेसबर्गको बाहिरी क्षेत्रमा अवस्थित तल्लो एलेक्जेन्ड्रामा भारी वर्षाका कारण क्षतिग्रस्त बनेको फोहोर रोक्ने जाल मर्मत गर्न स्वयंसेवकहरू जुक्सकेई नदीको कम्मर–गहिरो पानीमा काम गरिरहेका दृश्य यस सङ्कटको प्रत्यक्ष उदाहरण बनेको छ । यदि यी जालहरू नहुने हो भने बस्ती विनाशकारी बाढीको चपेटामा पर्न सक्ने चिन्ता स्थानीय बासिन्दाहरू व्यक्त गर्छन् । यसैबीच जी–२० का २० धनी तथा विकासोन्मुख राष्ट्रका विश्व नेताहरू यस सप्ताहान्तमा जोहानेसबर्गमा भेला हुँदै छन् ।
आयोजक राष्ट्र दक्षिण अफ्रिकाले जलवायु परिवर्तनले झनै भयावह बनाइरहेका प्रकोपका असरहरू विशेष गरी गरिब देशहरूमा कति गम्भीर रूपमा परेको छ भन्ने विषयलाई शिखर सम्मेलनको मूल एजेन्डामा राख्न चाहन्छ । ब्राजिलमा जारी विश्वव्यापी जलवायु वार्तामा पनि यस्तै आग्रह बारम्बार उठिरहेको दक्षिण अफ्रिकाले धनी राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई थप सहयोगको माग गर्दै आएको छ ।
एलेक्जान्ड्राका पाँच लाखभन्दा बढी बासिन्दा दक्षिण अफ्रिकाको सबैभन्दा धनी वित्तीय क्षेत्र स्यान्डटनको छेउमै भए पनि ती समुदायहरू बर्सेनि आउने बाढी र जोखिमबाट बच्न असमर्थ छन् । पुलहरू डुबानमा परेपछि बालबालिकाहरू विद्यालयसम्म पुग्न नसक्ने अवस्था सामान्य घटना बनेको छ । स्वयंसेवक समूह ‘अलेक्जान्ड्रा वाटर वारियर्स’ का सह–संस्थापक सेमाडी मङ्गान्येले यस अवस्थालाई ‘महामहिमहरूसामु तुरुन्त समाधान खोजिनुपर्ने ठूलो खतरा’ का रूपमा वर्णन गर्नुभयो ।
ओपन सोसाइटी फाउन्डेसनकी अध्यक्ष बिनैफर नौरोजीका अनुसार जलवायु विनाश र सामाजिक–आर्थिक असमानता प्रत्यक्ष रूपमा गाँसिएका मुद्दाहरू हुन् । उहाँले भन्नुभयो, “विकासशील देशहरू आफ्नै अर्थतन्त्र विस्तार गर्ने कि महँगो जलवायु कारबाहीमा लगानी गर्ने भन्ने कठोर निर्णयको दोबाटोमा उभिएका छन् ।” विश्व बैंकका तथ्याङ्कअनुसार सन् १९८०–१९९० को तुलनामा सन् २०१०–२०२० को दशकमा सबैभन्दा गरिब राष्ट्रहरू आठ गुणा बढी प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् ।
पछिल्ला वर्षहरूमा दक्षिणी अफ्रिका शक्तिशाली उष्णकटिबन्धीय आँधीबेहरीको प्रहारमा परिरहेको छ । सन् २०१९ को चक्रवात ‘इडाई’ ले मोजाम्बिक, मलावी र जिम्बाब्वेमा करिब दुई अर्ब डलर बराबरको क्षति पुर्याएको थियो भने मलावीको कुल गार्हस्थ उत्पादन (जिडिपी) १२ अर्ब डलर मात्र छ । गत वर्षको एल–निनो प्रभावले दशककै सबैभन्दा कठोर खडेरी निम्त्याउँदै साना–स्तरीय कृषि तहसनहस पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























